प्रतीकात्मक तस्बिर
काठमाडाैं । १ जना नेपाली कामदार साउदी अरबबाट फर्किएपछी उनमा ‘मङ्कीपक्स’ अर्थात ‘एमपक्स’को सङ्क्रमण पुष्टि भएपछि थप निगरानी र सतर्कता बढाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, अस्पतालहरु र प्रयोगशालाहरुबाट निगरानी र सतर्कता बढाइएको स्वास्थ्य मन्त्रालयले जनाएकाे हाे ।
मन्त्रालयले हिजै एक विज्ञप्ति निकालेर सबैलाई सचेत रहन र एमपक्ससँग मिल्दोजुल्दो लक्षण भएमा अस्पताल गएर उचित सल्लाह लिन या मन्त्रालयको हटलाइन नम्बर १११५ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।
हालै साउदी अरबबाट फर्किएका तनहुँका ३६ वर्षिय पुरुष खटिराको समस्या लिएर काठमाडाैंको एक निजी अस्पतालमा पुग्दा एमपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएको थियो । जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमूना परीक्षण गर्दा हिजो एमपक्स पुष्टि भएको हो ।
उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको र अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । यसअघि गएको असारमा नेपाल आएकी १ जना विदेशी महिलालाई पनि एमपक्स पुष्टि भएको थियो ।
एमपक्स के हाे ?
एमपक्स भाइरसबाट सर्ने एक किसिमको सरुवा रोग हो । सङ्क्रमित व्यक्ति वा सङ्क्रमित पशुसँगको सम्पर्कमा आउँदा घाउ खटिरा र बिमिराको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थ,सङ्क्रमित बाँदर, मुसा, लोखर्केलगायत जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्छ ।
सङ्क्रमित व्यक्ति वा पशुसँग नजिकको सम्पर्कमा आउँदा तिनका र्याल, घाउ, खटिरा, शरिरबाट निस्कने तरल पदार्थ, दूषित सतह र सामग्रीबाट सर्ने गर्दछ । यस्तै श्वासनली, आँखा, नाक वा मुख काटिएको, टोकिएको वा फुटेको छालाजस्ता अङ्गबाट भाइरस शरिरमा प्रवेश गरेर पनि सर्ने गर्छ ।
बाँदर, मुसा, लोखर्केलगायत जनावर, भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो भाइरस सर्ने गर्छ । ज्वरो आउनु, सामान्य ज्वरो शुरू भएको १ देखि ३ दिनभित्रमा छालामा दाग देखिनु, अनुहार, हल्केला र पैतालामा डाबर देखापर्नु, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उपकिनुजस्ता यस रोगमा लक्षण हुन् ।
यस्तै टाउको, ढाड र मांसपेशी दुख्ने तथा शरिरका ग्रन्थीहरु बढ्न सक्छ । लक्षण १४ देखि २८ दिनसम्म रहन सक्छ र सामान्यता आफैँ हराउने गर्छ ।
बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा आँखामा सङ्क्रमण र दृष्टि गुम्ने, अन्य जीवाणुको सङ्क्रमण, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जाने र मृत्युजस्ता सम्भावित जटिलता देखापर्ने मन्त्रालयले जनाएको छ ।
यसबाट कसरी जाेगिने ?
मङ्कीपक्सबाट बच्नका लागि मङ्कीपक्सको शङ्का वा पुष्टि भएका व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, सङ्क्रमित व्यक्तिलाई घरमा वा अस्पतालमा आइसोलेशनमा राख्ने, सङ्क्रमित व्यक्तिको हेरचाह गर्नेले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने, नियमितरूपमा साबुनपानीले हात धुने, मरेका वा बिरामी जनवारको सम्पर्कमा नजाने, सङ्क्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान र भाँडा तातोपानीले धुने, सङ्क्रमतिको सम्पर्कमा आएका सहत र स्थान निसङ्क्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने गर्नु पर्दछ ।




















