फाइल फाेटाे
पाेखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।
सहकारी ठगी, सङ्गठित अपराध एवम् सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा ६२ दिनदेखि प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति लामिछानेलाई आठौं पटक म्याद थप गरेकाे हो ।
प्रहरीले दिएको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले आउँदो शुक्रवार लामिछानेविरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरेको छ । कास्की प्रहरीले लामिछानेविरुद्ध अनुसन्धान सकेर हिजो सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाइसकेको छ ।
प्रहरीले पोखराको सूर्यदर्शन सहकारीका १८ हजार ७०० जना बचतकर्ताको बचत अपचलनमा ५० जनालाई पनि मुद्दा चलाउने सिफारिशसहित प्रतिवेदन बुझाएको छ ।
प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा ४ देखि ६ वर्ष तथा थप ५० प्रतिशत र सम्पत्ति शुद्धीकरणमा २ देखि १५ वर्ष कैद र २८ करोड रुपैयाँ बिगो र त्यति नै जरीवाना असूल गर्ने मागसहित मुद्दा चलाउन सिफारिश गरेको छ । प्रहरीले सहकारीको कुल १ अर्ब ३५ करोड रुपैयाँ असूल गर्न राय पेश गरेकाे छ ।
गएको कात्तिक २ गते काठमाडाैंबाट पक्राउ परेका लामिछानेमाथि अनुसन्धानका लागि शुरूमा ६ दिन, त्यसपछि ७ दिन, १० दिन, १३ दिन, १५ दिन, ४ दिन र ५ दिन म्याद थप गरेर अनुसन्धानपछि यस पटक ४ दिन म्याद थप भएको हो ।


