काठमााडाैं । थुनामा रहेका पार्टी सभापति रवि लामिछानेमाथि सरकारले मानवअधिकारकै हनन् हुने क्रियाकलाप गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ ।
सभापति रवि लामिछानेलाई सरकारले प्रतिशोधपूर्ण व्यवहार र मानवअधिकारको ख्यालै नगरी विभिन्न गतिविधि गरिरहेको भन्दै रास्वपाले मानव अधिकार आयोगमा उजुरी दिएको हो ।
उजुरीमार्फत रास्वपाले सभापति लामिछानेको जीउ ज्यानको सुरक्षा तथा मानवअधिकारको रक्षा गरी न्याय प्रदान गर्न गराउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई अपील गरेको छ ।
कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले दिएको उजुरीमा प्रहरी अनुसन्धानका लागि भनेर पक्राउ गरे पनि उनलाई विभिन्न किसिमले मानसिक यातना दिनुका साथै मानवअधिकारसमेत हनन हुने गरी राज्य संयन्त्रबाट अमानवीय, अपमानजनक तथा गैरन्यायिक व्यवहार हुँदै आएको उल्लेख गरेकाे छ ।
उजुरीमा लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिनु, राज्य संयन्त्रले नै नियोजित रूपमा सञ्चारमाध्यमहरुको प्रयोग गरी लामिछानेलाई अपराधीका रूपमा प्रचारप्रसार र बदनाम गराउने प्रयत्न गर्नु र राज्य संयन्त्रको दुरुपयोग गरी एक प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने अमानवीय, अपमानजन तथा गैरन्यायिक चाल र राज्य आतङ्क भएको उल्लेख गरेको छ ।


