काठमाडाैं । चीन सरकारले नेपाललाई ५०० मिलियन आरएमबी अर्थात् करिब ९ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनपिङबीच भएको भेटवार्तामा राष्ट्रपति सीले नेपाललाई ५०० मिलियन आरएमबी अनुदान दिने घोषणा गरेका हुन् ।
प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध र हितका विविध विषयमा विस्तृत छलफल भएको छ ।
नेपाल र चीन पुराना र असल छिमेकी तथा मित्रराष्ट्र भएको उल्लेख गर्दै राष्ट्रपति सीले २ देशबीचको सम्बन्ध आपसी सद्भाव, सम्मान र सहयोगमा आधारित रहेको बताए । उनले नेपालको विकास र समृद्धिमा चीनको दरिलो साथ र सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरे ।
राष्ट्रपति सीले उक्त अवशरमा नेपाली वस्तु चिनियाँ बजारमा आयात गर्न र चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि प्रोत्साहन गर्न तयार रहेको बताए ।
प्रधानमन्त्रि ओलीले २ देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षको अवसरमा राष्ट्रपति सीलाई सन् २०२५ मा नेपाल भ्रमण गर्न निमन्त्रणा दिएका छन् । जवाफमा राष्ट्रपति सीले नेपाल भ्रमण आमन्त्रणको लागि धन्यवाद व्यक्त गर्दै उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताए ।




















