काठमाडाैं । देशभरका रिक्त विभिन्न पालिकाका ४१ पदका लागि हिजो भएको उपचुनावको अहिलेसम्म ३५ वटा पदको नतिजा सार्वजनिक भएको छ । २ अध्यक्ष, १ उपमेयर, १ उपाध्यक्ष र ३१ वडाध्यक्षको नतिजा सार्वजनिक भएको हो ।
गाउँपालिकाका २ अध्यक्षमध्ये दैलेखको महाबु गाउँपालिकामा एमालेका जंगबहादुर शाही र मोरङको ग्रामथानमा माओवादी केन्द्रका नमोनारायण माझी विजयी भएका छन् । यसअघि २०७९ को चुनावमा दुवै गाउँपालिकाको अध्यक्ष कांग्रेसले जितेको थियो ।
यस्तै जाजरकोटको नलगाड नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रकी देवका लामिछाने विजयी भएका छन् । यसअघि यहाँ कांग्रेस विजयी भएको थियो । यसअघि कांग्रेसले नै जितेको बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी सुलोचनाकुमारी भण्डारी विजयी भएकी छिन् ।
नतिजा सार्वजनिक भएका ३१ वडाध्यक्षमध्ये कांग्रेसले १५, एमालेले ५, माओवादी केन्द्रले ५, जसपा नेपालले २, रास्वपाले १, एकीकृत समाजवादीले १, नेमकिपाले १ र स्वतन्त्र उम्मेदवारले १ ठाउँमा जितेका छन् । अब १ मेयर, २ उपाध्यक्ष र ३ वडाध्यक्षको नतिजा सार्वजनिक हुन बाँकी छ ।


