काठमाडौं । पाकिस्तानमा जारी ब्लाइण्ड टी२० विश्वकपमा आज पहिलाे पटक नेपालले जित हात पारेकाे छ । नेत्रहीन क्रिकेट विश्वकपमा नेपालले पहिलो जित हासिल गरेको हाे ।
सोमबार भएको आफ्नो तेस्रो खेलमा नेपालले अफगानिस्तानलाई १०८ रनले हराएको हो । नेपालले दिएको २२९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २० ओभरमा ९ विकेट गुमाएर १२० रन मात्र बनायो ।
खेलमा अबसिन सेलाबले सर्वाधिक ५३ रन बनाएका थिए ।
नेपालका सुनिल मगरले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिए । त्यस्तै भरत थापा, सुनिल क्षेत्री र अमिश गुरागाईंले समान १-१ विकेट लिएका थिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा २ विकेट गुमाएर २२८ रन बनाएकाे थियो ।
अब नेपालले भोलि दक्षिण अफ्रिकासँग खेल्न बाँकी छ । उक्त खेल जित्दै सेमिफाइनलमा स्थान बनाउने नेपाली टोलीको लक्ष्य हुनेछ ।



