एजेन्सी । पाकिस्तानमा भएकाे धार्मिक हिंसामा परी कम्तीमा ३२ जनाको ज्यान गएको छ । साेही हिंसामा परी अन्य ४७ जना घाइते भएका छन् ।
खैबर पख्तुनख्वा प्रान्तमा शिया र सुन्नी मुसलमान समुदायबीच भएको झडपमा १४ सुन्नी र १८ शिया समुदायका मानिसको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।
आक्रोशित शिया समुदायका व्यक्तिहरूको समूहले सुन्नीको बाहुल्यता रहेको बागान बजारमा आक्रमण गरेको थियो । आक्रमणपछि उनीहरूले बजारका सबै घर र गाउँका घरहरूमा समेत पेट्रोल छर्किएर आगो लगाएका वरिष्ठ प्रहरी अधिकारीले एएफपीलाई बताएका छन् ।
साे घटनामा ३०० वटाभन्दा धेरै पसल र १०० वटाभन्दा धेरै घर जलेको प्रारम्भिक रिपोर्टमा उल्लेख छ ।
हिंसा हुनु १ दिन अगाडी मात्रै एउटा बसमा भएको आक्रमणमा ४३ जनाको ज्यान गएको थियो । हिंसा नियन्त्रणमा लिन ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परीचालन गरीएकाे छ ।


