काठमाडाैं । आजदेखि धरहरा व्यवसायिक रूपमा खुला भएको छ । अब धरहरामा शुल्क तिरर चढन पाइने भएको हो ।
यसअघि परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न अब नेपाली नागरिकहरुले प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क लाग्ने छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिले धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट गरिएकाे छ ।
यस्तै धरहरामा सवारी पार्किङ गर्दा लाग्ने शुल्क समेत तोकिएको छ ।
विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम सार्क देशबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५०० र सार्कबाहेकका देशका पर्यटकलाई प्रतिव्यक्ति १ हजार शुल्क निर्धारण गरीएको छ ।
२०७२ सालको भूकम्पले धरहरा ढलेको थियो । भूकम्प गएको ९ वर्षपछि संविधान दिवसको अवसर पारेर गएको असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा चढ्न खुला गरिएको हो ।


