काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी खर्बपति एक्सका मालिक एलन मस्क बिच भर्चुअल संवाद भएको छ । शुक्रबार बेलुकी प्रधानमन्त्री ओली र मस्कसँग संवाद गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको हाे ।
प्रधानमन्त्री ओलीले मस्कमार्फत् नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई समेत दिएका थिए । आउँदो जनवरीदेखि कार्यभार सम्हाल्न लागेका राष्ट्रपति ट्रम्पलाई ओलीले मस्कसँगको भर्चुअल वार्तामार्फत् बधाई दिएको उनको सचिवालयले जनाएको छ ।
अमेरिकाको राष्ट्रपतिमा ट्रम्पलाई जिताउन मस्कको विशेष भूमिका रहेको थियो । संवादको क्रममा मस्कले स्टारलिङ्कबारे प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गरेका थिए । उनले नेपालमा यसको प्रयोग भएमा प्राप्त हुन सक्ने सहुलियत र सुविधाबारे पनि बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
मस्क स्पेश एक्सका कम्पनीका मालिक हुन । उनले नेपालमा स्याटलाइट इन्टरनेट सेवा स्टार लिङ्क शुरु गर्न इच्छा देखाएका थिए । कुराकानीको क्रममा प्रधानमन्त्री ओलीले मस्कलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका छन् ।



