काठमाडाैं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले आज बिहानैदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।
मूल्य बढेसंगै डिजेल/मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १५० रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५२ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १५३ रुपैयाँ कायम भएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाण्डौ, पोखरा र दिपायलको डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ ।
इन्डियन आयल कर्पोरेशनबाट हिजो प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ३२ पैसा र डिजेलमा २ रुपैयाँ ५४ पैसा भारुले बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।


