एजेन्सी । भारतको राजधानी दिल्लीमा वायु प्रदूषण नियन्त्रणमा लिन ग्रेडेड रेस्पोन्स एक्शन प्लान थ्री लागू गरीएकाे छ ।
हावाको गुणस्तर मापन सूचक (एक्यूआई) पछिल्लो ३ दिनदेखि लगातार ४०० भन्दा माथि पुगेपछि सरकारले प्लान थ्री लागू गरेको बीबीसी हिन्दीले समाचारमा लेखेकाे छ ।
प्लान थ्री आज (शुक्रबार) बिहान ८ बजेदेखि लागू भएको भारतीय अधिकारीहरुले जनाएका छन् । याे योजना अन्तर्गत विद्यालयका कक्षा ५ सम्म बन्द गरिएकाे छ ।
यस्तै भारत स्टेज स्टयान्डर्ड (बीएस) थ्री पेट्रोल र बीएस फोर डिजलबाट चल्ने गाडीहरूमा समेत रोक लागेको छ । त्यसका साथै भवन भत्काउन र निर्माण कार्यमा पनि रोक लगाएको छ ।
त्यस अलावा टाइल्स, ढुङ्गा लगायत काट्न र भाँच्न रोक लगाइएकाे छ । घरहरूमा सानातिना मर्मतबाहेक सिमेन्ट, प्लास्टर वा अन्य कोटिङ्ग्सको प्रयोग हुने कामहरू गर्न पाइने छैन । डिजलबाट चल्ने जेनेरेटरहरू समेत चलाउन सरकारले राेक लगाएकाे छ ।




















