काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु बिरुद्ध अदालतकाे अवहेलना गरेकाे भन्दै मुद्दा दर्ता भएकाे छ । सभापति रवि लामिछानेमाथि सहकारीको रकम अपचलनमा अनुसन्धान चलिरहँदा अदालतको गतिविधिविरुद्ध आन्दोलन गरेकोभन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको हाे ।
अवहेलना निवेदनमा रास्वपाका सांसदहरू स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त मर्हजन, तोषिमा कार्की, सोबिता गौतमलगायतलाई विपक्षी बनाइएको छ।
अधिवक्ता अनुपम भट्टराईद्धारा दर्ता गरीएकाे मुद्दामा अनुसन्धानमा रहेको चरणमै अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबी सहित मुद्दा दर्ता गरिएकाे छ ।
यो मुद्दामा मङ्सिर ३ गतेको लागि पेसी तोकिएको छ । निवेदन सुरुमा सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेको थियो ।
कात्तिक १४ गते सर्वोच्च प्रशासनले उक्त निवेदन दरपिठ गरेको थियो । सह रजिस्ट्रार अच्युत कुइँकेलले दरपिठ गरेपछि त्यस विरुद्ध भट्टराईले कात्तिक २१ गते इजलासमा निवेदन दिएका थिए । निवेदनमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश शर्माको इजलासले दरपिठ बदर गरेसँगै मुद्दा दर्ता भएको हो ।


