एजेन्सी । इक्वेडरका राष्ट्रिय फुटबल टोलीका सदस्य मार्काे एन्गुलोको निधन भएको छ । कार दुर्घटनामा परी घाइते भएका २२ वर्षीय फुटबलर मार्काेको उपचारका क्रममा निधन भएको हाे ।
एलडीयू क्विटो क्लबलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार गएको अक्टोबर ७ मा कार दुर्घटनामा परी उनी गम्भीर घाइते भएका थिए ।
मार्काेको निधनप्रति इक्वेडर फुटबल महासङ्घले शोक व्यक्त गर्दै उनी उत्कृष्ट खेलाडी मात्र नभएर उत्कृष्ट साथी पनि रहेका बताएको छ । सन् २०२२ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका मार्काेले ३ वटा अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले एलडीयू क्विटो क्लबबाट १६ वटा खेल खेलेका छन् ।
रिपोर्टका अनुसार कार दुर्घटनामा इन्डिपेन्डिएन्ट डेल भ्याले क्लबका फुटबलर रोबार्टाे बाजेजास र मार्काेका साथी भिक्टर कार्काेपाको पनि निधन भएको छ । त्यति बेला कारमा अन्य २ जना रहे पनि उनीहरूको अवस्थाबारे थाहा नभएको खबरमा उल्लेख छ ।


