प्रतिकात्मक तस्बिर
हेटाैंडा । हेटौंडाकाे थानाभर्याङमा टायरमा हावा हाल्ने क्रममा पड्किएर १ जनाको ज्यान गएको छ भने अन्य ५ जना घाइते भएका छन् ।
उपमहानगरपालिका वडा नम्बर ११ काे थानाभर्याङमा भएकाे उक्त घटनामा परी ज्यान गुमाउनेमा ब्यती भारत घर भएका ३४ वर्षीय मोहम्मद ऐजाज भएकाे पुष्टी भएकाे छ । उनी हेटौंडा टायर मर्मत पसल सञ्चालक भएकाे प्रहरी जानकारी दिएकाे छ ।
आज बिहान १ बजे मधेश प्रदेश ०३–००२ ख ०३०० नम्बरको पेट्रोल बोकेको ट्यांकरको टायरमा हावा भर्ने क्रममा टायर पड्किएको हाे । टाउकोमा चोट लागेर गम्भिर घाइते भएका ऐजाजको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको मकवानपुर प्रहरीले जनाएकाे छ ।
सोही घटनामा परी साेही पसलमा काम गर्ने पर्साको धोबिनी गाउँपालिकाका १८ वर्षीय जाबिर हवारी, हेटौंडा–११ का ३९ वर्षीय देवान लामा, हेटौंडा–११ कै ४७ वर्षीय मोहनलाल दुलाल, धादिङको धुनिबेशी नगरपालिका–२ का २३ वर्षीय उत्तम बस्नेत र धादिङको थाक्रे गाउँपालिका–८ का लक्ष्मण थापा घाइते भएका छन् ।



