फाईल तस्बिर
काठमाडाैं । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका राजिव गुरुङ उर्फ दीपक मनाङे काठमाडाैंबाट पक्राउ परेका छन् ।
गण्डकी प्रदेशका पूर्वमन्त्री समेत रहेका मनाङेलाई आज काठमाडाैंको सानो भर्याङबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी उपरीक्षक एवम् प्रवक्ता होबिन्द्र बोगटीले पुष्टी गरेका हुन् ।
उनलाई फैसला कार्यान्वयनका लागि आजै अदालतमा उपस्थित गराउने तयारी प्रहरीले गरेकाे छ । मनाङेलाई सर्वोच्च अदालतले गएको कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो ।
न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि उच्च अदालत पाटनले गरेको फैसलालाई सदर गरेको हो । उच्च अदालत पाटनले मनाङेलाई २०६९ सालमा पाँच वर्ष कैद सजाय सुनाएको थियो ।
सर्वोच्चले पनि दोषी ठहर गरेपछि मनाङेविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । मनाङे समूहले २१ वर्षअघि अर्का गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरेको थियो ।




















