एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनमा कुराकानी गरेको वासिङटन पोस्टले दाबी गरेको छ ।
ट्रम्पको विजयी सुनिश्चित भएपछि नोभेम्बर ६ तारिख अर्थात् गएको बुधवार उनले पुटिनसँग कुराकानी गरेको स्रोतहरुलाई उद्धृत गर्दै वासिङटन पोस्टले जनाएको छ ।
ट्रम्पले पुटिनलाई युक्रेनमा युद्ध नबढाउन चेतावनी दिएको खबरमा उल्लेख गरेकाे छ ।
यस्तै, युरोपमा अमेरिकी सैन्य उपस्थितिलाई बेवास्ता नगर्न पनि ट्रम्पले पुटिनलाई आग्रह गरेकाे समाचारमा लेखिएकाे छ । ट्रम्पको चुनावी अभियानले भने पुटिनसँग कुरा गरेको समाचारमा कुनै टिप्पणी गरेको छैन ।
बीबीसीले ट्रम्पका सञ्चार निर्देशक स्टीवन चेङलाई टेलिफोन कुराकानीबारे पुष्टि गर्न खोज्दा स्पष्ट जवाफ नपाएको जनाएको छ । ‘हामी राष्ट्रपति ट्रम्प र अन्य विश्व नेताहरूबीचको निजी फोनको बारेमा टिप्पणी गर्दैनौँ ’ चेङले भने ।
चुनावी अभियानको क्रममा ट्रम्पले आफू विजयी भएमा युक्रेन युद्ध एकैदिनमा समाप्त गरिदिने जिकिर गरेका थिए । तर राष्ट्रपतिमा निर्वाचित भएपछि भने उनले युक्रेन युद्धबारे बोलेका छैनन् ।



