कालीकोट । कालीकोटकाे पलाँता गाउँपालिका–३ मा हिजो भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या ७ जना पुगेको छ ।
उपचारको क्रममा सल्यान जिल्ला सारदा नगरपालिका १४ का ५१ वर्षीय धनीराम रावतको ज्यान गएपछि मृतकको सङ्ख्या ७ जना पुगेको हाे । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरिक्षक टेकबहादुर रावतका अनुसार उपचारका क्रममा ज्यान गुमाउने जिप चालक हुन् ।
यसअघि पलाँता– ६ का दसकला शाही, पदम बम, भगवती रोकाया, गणेश शाही, पलाँता– ५ का छाँया शाही र पलाँता–३ का ६ वर्षीय बालक दमन रोकायाको भने हिजो घटना स्थलमै ज्यान गएको थियो ।
दुर्घटनामा घाइते भएकाहरुको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।
पलाँता गाउँपालिका–५ खिनबाट पलाँता ९ थिर्पुतर्फ जाँदै गएको क १ ज ५६ नम्बरको जीप पलाँता–३ को राडु भन्ने ठाउँमा हिजो दुर्घटना भएको हो ।


