फाईल तस्बिर
पाेखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।
सहकारी ठगी र सङ्गठित अपराध कसूरमा पक्राउ परेका लामिछानेलाई आज चौथो पटक म्याद थप्न प्रहरीले अदालतमा उपस्थित गराएको थियाे । न्यायाधीश नवराज दाहालले लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिनुभएको हो ।
लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं र रामबहादुर खनाललाई पनि १३ दिन हिरासतमा राख्न म्याद थप भएको छ ।
पाेखराकाे सूर्यदर्शन सहकारीको बचत रकम लामिछाने तत्कालीन अवस्थामा प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा आएको देखिएको भन्दै सहकारीसम्बन्धी संसदीय छानबिन समितिले कारबाही सिफारिश गरेको थियो ।
लामिछानेलाई कात्तिक २ गते काठमाडाैंमा पक्राउ गरेर कास्की ल्याएपछी प्रहरीले आज चौथो पटक अदालतमा उपस्थित गराएको हो ।
रास्वपाले लामिछानेको बचाउमा आज पनि पोखरामा प्रदर्शन गरेको थियाे ।




















