काठमाडाैं । नेकपा एमालेले कोशी प्रदेश सांसद लिलाबल्लभ अधिकारीलाई पार्टीबाट निलम्बन गरेको छ । नेकपा एमालेको कोशी प्रदेश कमिटिका अध्यक्ष घनश्याम खतिवडाले आज विज्ञप्ती निकालेर मानव तस्करी मुद्दामा जोडिएका अधिकारीमाथि लागेको आरोपको छानविन भएर टुङ्गो नलाग्दासम्म संगठित सदस्यबाट निलम्बन गरिएको उल्लेख गरेका छन् ।
मानव तस्करी जस्तो गम्भीर आरोपका सम्बन्धमा शीघ्र छानविन तथा गहिरो अनुसन्धान गरी सत्य तथ्य सार्वजानिक गर्न नेपाल सरकार र सम्बन्धित निकायको गम्भीरतापूर्वक ध्यानाकर्षण गराइएको पनि विज्ञप्तीमा उल्लेख छ ।
लिलावल्लव अधिकारीलाई आरोपको अन्तिम निरुपण नभएसम्मको लागि पार्टीको कुनैपनि तहमा रहन नपाउने गरी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्य तथा एमालेको सङ्गठित सदस्यताबाट समेत निलम्बन गरिएको खतिवडाले विज्ञप्तीमा उल्लेख गरेका छन् ।
अवैध तरिकाले जापान गएका अधिकारीलाई त्यहाँको अध्यागमनले ४८ घण्टासम्म विमानस्थलमै राखेर नेपाल फिर्ता पठाइदिएको थियो ।
कोशी प्रदेश सरकारको तात्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका अधिकारीले मन्त्री पदबाट राजीनामा दिइ सकेका छन् ।


