एजेन्सी । अमेरीकी राष्ट्रपतिमा विजयी भएसँगै डाेनाल्ड ट्रम्पलाई विश्वभरबाट बधाईको ओइरो लागेको छ । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले बधाई दिँदै उनीसँग काम गर्न तयार रहेको बताएका छन् ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोले युरोपको हितको रक्षा गर्दै ट्रम्पसँग सम्मान र महत्त्वाकाङ्क्षाका साथ काम गर्न तयार रहेको बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बधाई दिएका छन् ।
इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले ट्रम्पलाई बधाई दिँदै २ देशबीचको साझेदारी थप बलियो हुने बताएका छन् । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले आफू अमेरिका–युक्रेन साझेदारीको दरिलो युगको पर्खाइमा रहेको बताउँदै रुसविरुद्धको युद्धमा लगातारको अमेरिकी सहयोगका लागि आशावादी रहेको बताएका छन् ।
ट्रम्पले यसअघि आफू विजयी भएमा रुस–युक्रेन युद्ध केहीबेरमै रोक्न सक्ने जिकिर गर्दै आउएका थिए । अब उनले रुस–युक्रेन युद्धलाई कसरी रोक्नेछन भन्ने चासो बढेको छ । रुसविरुद्ध लड्न अमेरिकाले युक्रेनलाई दिएको अर्बाैं डलर सहयोगको ट्रम्पले विरोध गर्दै आएका थिए ।
ट्रम्प विजयी भएपछि पत्रकार सम्मेलन गरेर रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले रुस–अमेरिकाको सम्बन्ध ऐतिहासिक रूपमा कमजोर रहेको स्वीकार गर्दै वार्ताका लागि भने ढोका खुलै रहेको बताएका छन् ।
यस्तै इरानविरुद्ध तत्कालै आक्रमण गर्नुपर्ने अभिव्यक्ति दिँदै आएका ट्रम्प अमेरिकी राष्ट्रपतिमा विजयी भएकाले अहिले मध्यपूर्वमा चर्किएको द्वन्द्व थप बढ्न सक्ने कतिपयको विश्लेषण छ ।
विश्वको दोस्रो ठूलो शक्तिमा रहेको चीनविरुद्ध पनि ट्रम्पले धेरै नकारात्मक अभिव्यक्ति दिँदै आएका थिए । कोरोना भाइरसलाई चिनी भाइरसको संज्ञा दिनुभएका ट्रम्पको कार्यकालमा चीनसँगको सम्बन्ध सुधार हुन सकेको थिएन ।
ट्रम्पले अवैध आप्रवासीविरुद्ध कडा नीति ल्याएर देश निकाला गर्ने चेतावनी दिएकाले अवैध रूपमा अमेरिका पुगेका र पुग्न खोज्ने आप्रवासी प्रभावित हुनेछन् ।
ट्रम्पले आफ्नाे विजय निश्चित भएपछि फ्लोरिडामा समर्थकहरूलाई सम्बोधन गर्दै अमेरिकाले अभूतपूर्व र बलियो जनादेश दिएको बताए । यो चुनावमा रिपब्लिकन दलले राष्ट्रपतिसँगै माथिल्लो सदनमा बहुमत पुर्याइसकेको छ । तल्लो सदनमा पनि रिपव्लिकनकै बहुमत आउने सम्भावना बलियो छ ।



