फाईल तस्बिर
पाेखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएकोले तिहार लगत्तै अदालत उपस्थित गराउने तयारी कास्की प्रहरीले गरेकाे छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी अधिकृतहरुले जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीको रोहबरमा उनको बयान लिएका हुन् ।
पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताले राखेको रकम अपचलन गरेको आरोपमा अनुसन्धानका लागि प्रहरीले कात्तिक २ गते लामिछानेलाई रास्वपाको केन्द्रीय कार्यालय काठमाडाैंबाट पक्राउ गरेको थियो ।
गोर्खा मिडिया नेटवर्कमा काम गर्न जाँदा आफूले ‘स्वेट शेयर’वापत आएको शेयरवापत १ करोड ८० लाख रुपैयाँ पारिश्रमिकबाट कट्टा हुने गरी त्यहाँ काम गर्न थालेको लामिछानेले वयानमा भनेकाे प्रहरी स्राेतले जानकारी दिएकाे छ ।
यता लामिछानेले सूर्यदर्शन सहकारीमा आफू शेयर सदस्य, कर्मचारी, ऋणी वा अन्य कुनै भूमिकामा नरहेको भन्दै सहकारी ठगीमा संलग्नता नरहेको जिकिर गरेका छन् ।


