काठमाडाैं । काठमाडाैं महानगरपालिकाले साफ महिला च्याम्पियनसिप २०२४ मा उपविजेता बनेको नेपाली महिला फुटबल टोलीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । महानगरले टोलीका हरेक खेलाडीलाई जनही १ लाख रुपैयाँ, प्रशिक्षक, टिम ब्यवस्थापक, फिजियोलगायतलाई गरी कूल २७ लाख ५० हजार रुपैयाँ पुरस्कारबाट सम्मान गरेको हो ।
खेलाडीहरु बसेको होटल सोल्टीमै पुगेर महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डङ्गोलले नगद पुरस्कार र सम्मान पत्रबाट सम्मान गरेका थिए । राति खेल सकेर होटल पुग्नासाथ खेलाडीहरुलाइ महानगरले सम्मान गरेकाे थियाे ।
सम्मान कार्यक्रममा बालेनले फाइनल खेल दशरथ रङ्गशालामै आएर हेर्दा नर्मस भइने डरले आफुले घरमै बसेर हेरेको पनि बताए ।
‘फाइनलमा हामी बङ्गलादेशभन्दा कम थिएनौँ एउटै कर्नरको गोलले पछि परिएको हो । हारले जित्न सिकाउँछ । हामी सबै नेपालीलाई तपाईहरुले खुशी दिनुभएको छ । त्यो नै जित हो,’ बालेनले भनेका थिए ।
उपप्रमुख डंगोलले हरेक हारले जित्न सिकाउने भन्दै खेलाडीलाई अर्को पटक जित्न शुभकामना दिए ।
महानगरले दर्शकको चापलाई ध्यानमा राखेर बुधवार साँझ काठमाण्डौको टुँडिखेल, चाबहिलको फुटबल ग्राउन्ड र हाँडीगाउँको सानो गौचरणको मैदानमा एलइडी स्क्रिनबाट महिला फाइलन खेलको प्रत्यक्ष प्रसारण हेर्ने अवसर दिएको थियो । महानगरका अनुसार टुँडिखेलमा २० हजार, हाँडीगाउँमा ५ हजार र चाबहिलमा ७ हजार दर्शकले फाइनल खेल हेरेको थियाे ।



