संखुवासभा । मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा २ जना भारतीयकाे ज्यान गएकाे । साेही दुर्घटनामा परी अन्य २ जना भारतीय घाइते भएका छन् ।
ज्यान गुमाउने र घाइते हुने सबै अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत भारतीय मजदुरको पुष्टी भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा टिपर चालक भारतीय नागरिक ५७ वर्षीय शैलेन्द्रप्रताप सिंह र टिपरमा सवार २९ वर्षीय सारुक मोहमद हुन् । दुवै जनाकाे उपचारकाे क्रममा बिहीबार बिहान ज्यान गएकाे थियाे । साेही दुर्घटनामा परेर भारतीय नागरिक २८ वर्षीय योगेन्द्र पाल र ४० वर्षीय ईश्वर पासवान घाइते भएकोले उपचारकाे लागी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पठाइएको छ ।
एचपी ११–४९३३ नम्बरको टिपर बुधबार राति दुर्घटनामा परेको हो । अरुण तेस्रो जलविद्युत् परियोजनाको काममा लगाइएको टिपर ड्याम साइडमा काम गरेर फर्किने क्रममा साँझ ७ बजेतिर आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको उनले जानकारी दिए । टिपर सडकबाट करिब ५० मिटर तल खसेको छ ।
घटनास्थल सदरमुकाम खाँदबारीबाट करिब ५६ किलोमिटर उत्तरमा पर्छ ।




















