सल्यान । जिल्लाकाे कपुरकोट गाउँपालिका-६ सिनबाङ्गमा भएको मिनी ट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । २४ वर्षीय चालक मानबहादुर भण्डारीको राप्ती प्रादेशिक अस्पताल दाङमा उपचारका क्रममा ज्यान गएसंगै मृत्तककाे संख्या ४ पुगेकाे सल्यान प्रहरीले जनाएकाे छ ।
कपुरकोट गाउँपालिका-६ स्थित दुबेदेबाट देबबहादुर बस्नेतको खेतबाट धान र पराल लिएर छापनेटा जाँदै गरेको रा १ ख २४०२ नम्बरको मिनी ट्रक सोमबार बेलुकी सडकमा रहेको रुखलाई छलेर चलाउन खाेज्दा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी १४ बर्षका गोबर्द्धन खडका, १२ वर्षका डिल्ली भन्ने अनिल भण्डारी, १३ वर्षकी सृजना बस्नेतको ज्यान गएकाे प्रहरीले जानकारी दिएकाे छ । उनीहरु मघ्य खडका र भण्डारीकाे घटना स्थलमा र बस्नेतकाे उपचारका लागि लैजाँदै गर्दा बाटैमा ज्यान गएको थियो ।
दुर्घटनामा परी गम्भीर घाइते भएकी १३ वर्षीया कखुमा बस्नेत, ३५ वर्षकी नन्दा बस्नेत, ३५ वर्षीय देबबहादुर बस्नेतको नेपालगन्जस्थित नर्सिङ होममा उपचार भइरहेको छ ।


