एजेन्सी । समुद्री आँधी ‘दाना’ आज भारतको पश्चिम बङ्गाल र ओडिशाको तटमा पुग्ने भन्दै सरकारले चेतावनी जारी गरेको छ । पश्चिम बङ्गाल र ओडिशाका सरकारले चक्रवाती आँधीबाट बच्नका लागि तयारी पूरा भएको बताएका छन् । आँधीका कारण वन्दे भारत र राजधानी एक्सप्रेससहित २०० वटाभन्दा धेरै रेल बन्द भएका छन् ।
पश्चिम बङ्गाल र ओडिशा सरकारले सावधानीका रूपमा तटीय क्षेत्रबाट झन्डै ३ लाख जना मानिसलाई सुरक्षित ठाउँमा सारेका छन् । दुवै राज्यमा तटीय जिल्लाका सबै विद्यालय शनिवारसम्म बन्द गरेकाे छ । डाक्टरहरूसहित सबै सरकारी कर्मचारीको बिदा रद्द गरिएको बीबीसी हिन्दीले जनाएको छ ।
‘दाना’ आँधीकै कारण आज र भोलि शुक्रवार भारी वर्षाको सम्भावना छ । पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले ‘दाना’ को सम्भावित प्रभाव भएका जिल्लाहरूमा स्थिति अनुगमन गर्न सचिवस्तरका अधिकारीहरूलाई नियुक्त गरिएको बताए । ओडिशाका राजस्व तथा विपद् व्यवस्थापन मन्त्री सुरेश पुजारीले पर्यटकहरूलाई आउँदो ४ दिनका लागि सबै होटल बुकिङ रद्द गर्न आग्रह गरे ।
मङ्गलवार ३ हजार जनाभन्दा धेरै पर्यटकलाई पुरी क्षेत्रबाट सुरक्षित रूपमा घर पठाइएको भारत सरकारले जनाएको छ । अहिले पुरीका सबै होटल लगभग खाली रहेकाे छ ।
गेटी इमेजेज


