काठमाडाैं । नेपाली काँग्रेस र नेकपा एमाले सम्मिलित अहिलेकाे सरकारले १०० दिन पार गरेकाे छ । यसै बिच आज प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले १०० दिनमा गर्ने लक्ष्य लिएको कामहरूमध्ये ७० प्रतिशत काम गरेको दाबी गरेका छन् ।
आज प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट सम्बोधन गर्दै उनले सरकारको १०० दिनको उपलब्धी सार्वजनिक गर्दै लक्ष्यकाे ७० प्रतिशत प्रगति भएको दाबी गरेका हुन् ।
संबाेधनका क्रममा उनले अहिले साम्प्रदायिक विद्वेष, घृणा र परस्पर बेमेलको वातावरण पैदा गरेर नेपालको राष्ट्रिय एकतालाई बिथोल्ने र प्रतिगमनतर्फ लैजाने प्रयास भएकाे बताए । तर नेपाल र नेपालीलाई प्रतिगमन कुनै हालतमा स्वीकार्य नभएको उनको भनाइ छ ।
सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्ता अफवाह पनि फैलाउने गरिएको भन्दै उनले यो काम गर्न नदिने उद्देश्यले चलाइएको हल्ला भएको दाबी समेत गरे । उनले सरकार ढल्छ भन्ने आशा नगर्न विपक्षीलाई अनुरोध गर्दै जुनसुकै कालखण्डको भए पनि भ्रष्टचारीमाथी कारबाही हुने बताए ।
उनले सरकार बनेकै दिनदेखि विरोध सुरू भएको पनि बताए ।


