काठमाडाैं । भारतको भिस्तारा एअरको विमानमा कुनै शङ्कास्पद वस्तु फेला नपरेपछी उडान नियमीत भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानमा बम राखेको हल्ला फैलिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले जाँच गर्दा बम नभेटिएपछी उडान नियमीत भएको हो ।
विमानमा कुनै पनि शङ्कास्पद वस्तु नभेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नियमित रूपमा सञ्चालन भइरहेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए । उनले विमानमा शङ्कास्पद वस्तु फेला नपरेपछि विमानलाई खतरामुक्त घोषणा गरिएको बताए ।
भारतको नयाँ दिल्लीबाट मंगलबार दिउसाे ४:३० बजे काठमाडाैंकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भिस्ताराको उडान नम्बर ‘यूके १५५’ भएको विमानमा बम राखेको सूचना प्राप्त हुनासाथ सेनाको डिस्पोजल टोलीले बेलुकी ७ बजेसम्म विमानको जाँच गरेको थियो ।
भिस्ताराको एअरबस ए ३२० विमानमा बम रहेको धम्कीपूर्ण सूचना आएपछि काठमाडाैं विमानस्थलमा विमानलाई पार्किङ–वेबाट अलग्गै राखेर सुरक्षा जाँच गरिएको थियो । विमानका यात्रुलाई विशेषरूपमा शरीर खानतलासी गरेर उच्च निगरानीका साथ अध्यागमनबाट बाहिर पठाइएको थियो ।




















