फाइल तस्बिर
पाेखरा । सहकारी ठगीको आराेपमा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । कास्की प्रहरीले म्याद थपका लागि सभापति लामिछानेलाइ आज अदालतमा उपस्थित गराउन लागेको हो ।
लामिछानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रवार बेलुकी काठमाडाैंबाट पक्राउ गरेर पोखरा ल्याएकाे थियो । पोखरामा रहेको सूर्यदर्शन सहकारीको बचत हिनामिनामा अदालतले पूर्वगृहमन्त्री लामिछानेसहित १४ जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
लमिछानेलाई संसदीय छानबिन विशेष समितिले समेत सहकारी बचत अपचलन गरेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सिफारिश गरेको थियो । लामिछानेले गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत मिडियामा लगेर अपचलन गरेको आरोप छ ।
जितेन्द्रबाबु (जीबी) राई अध्यक्ष रहेको पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको सहारा र काठमाडाैंको स्वर्णलक्ष्मी सहकारीको कम्तीमा ६५ करोड ५४ लाख रुपैयाँ बचत रकम राई अध्यक्ष र लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा ल्याइएको र त्यसको धेरैजसो रकम लामिछानेले आफैँले चेक काटेर खर्च गरेको संसदीय समितिको प्रतिवेदनमा उल्लेख छ ।


