काठमाडाैं । प्रमुख ३ दल सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग चाँडो गठन गरी सङ्क्रमणकालीन न्याय सम्पादनलाई टुङ्गोमा पुर्याउन सहमत भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको ३ दलका शीर्ष नेताहरूको बैठकमा सङ्क्रमणकालीन न्याय सम्पादनलाई टुङ्गोमा पुर्याउन कानूनबमोजिम दुवै आयोगलाई यथाशक्य चाँडो पूर्णता दिएर अघि बढ्ने सहमति भएको हाे ।
बैठकले आयोग गठनका लागि पदाधिकारीको छनोट गर्न सिफारिश समिति गठन गर्ने निर्णय गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्को अब बस्ने बैठकले सिफारिश समिति गठन गर्नेछ ।
बैठकमा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश बडाललगायत सहभागी भएका थिए ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक यसअघि नै संसद्बाट पारित भइसकेको छ । विधेयक गएको भदौ १३ गते नै राष्ट्रपतिबाट प्रमाणीकरण भएको भए पनि सत्य निरूपण र बेपत्ता आयोग पदाधिकारीविहीन छन् ।
पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सिफारिश समितिसमेत गठन भएको थियो । तर राष्ट्रिय मानव अधिकार आयोगले सदस्य नपठाएपछि सिफारिश समितिले पूर्णता पाउन सकेको छैन ।




















