गोरखा । अधिकांश मानिसलाइ यात्राको क्रममा वाकवाकी लाग्ने गर्दछ । धेरै जसो मानिसहरुलाई सार्वजनिक सवारीमा वाकवाकी गरेको हामीले देखेका छौ । त्यो समस्या तपाइमा पनि हुन सक्छ ।
बसको यात्रा गर्दा धेरैजसो व्यक्तिलाई मोसन सिक्नेस (वाकवाकी आउने, रिंगटा लाग्ने) हुन्छ । अनि पेट उमठेर बान्ता हुने हुन्छ । बसको यात्रामा त्यस्तो समस्या हुने मान्छेले अदुवा खाने, पानी खाने, अनि हल्का खाना खाएर यात्रा गर्नु राम्रो हुन्छ ।
यात्राका क्रममा वान्ता हुने समस्या रोक्न घरेलु उपाय र औषधीय गुणयुक्त जडिबुटी तथा एलोपेथिक औषधि पाइन्छ । तर त्यसका बारेमा हामीलाइ जानकारी नहुदा प्रयोग गरीरहेका छैनौ पनि ।
बान्ता रोक्ने ओषधि (मेटोकोलोप्राइमिड) यात्रा गर्नु पूर्व १–२ घण्टाअघि सेवन गर्दा पनि त्यस्तो समस्याबाट मुक्ती पाउन सकिन्छ ।
त्यस बाहेक पनी घरेलु उपाय र औषधीय गुणयुक्त जडिबुटी प्रयोग गरेर पनि समस्या बाट उन्मुक्ती पाउन सकिन्छ । खासमा यात्राका क्रममा शरीरका इन्द्रीयहरु आँखा, कान आदिले सन्तुलित ढंगबाट आ–आफ्नो कार्य गर्न नसक्दा मोसन सिकनेस अर्थात यात्राजन्य वान्ता उत्पन्न हुन्छ । मोसन सिकनेस पनि व्यक्तिपिच्छे फरक–फरक हुन्छ ।
आफ्नो यात्रा सुखदायी र रमाईलो बनाउनका हामी तपाइलाइ घरको भान्सामा प्रयोग हुने केही प्रभावकारी घरेलु उपाय र औषधीय गुणयुक्त जडिबुटीको बारेमा जानकारी दिन्छौ ।
१) जेठीमधु : यो मधुर र स्निग्ध गुणयुक्त हुने भएकोले आमाशयको अम्लता कम गर्दछ साथै आमाशयको वायुलाई पनि कम गर्दछ । अतः यात्रा गर्दा जेठीमधुका टुक्राहरु मुखमा राखेर चुसीरहनु भने तपाइले त्यो समस्याबाट उन्मुक्ती पाउनु हुने छ ।
२) ल्वाङ्ग : ल्वाङ्ग मुखमा राखेर चुसीरहँदा पनि वान्ता हुँदैन ।
३) जामुन : जामुनको फल तथा यसका पातहरुमा वान्ता रोक्न सक्ने औषधीय गुण हुन्छ । अतः जामुन पत्रको रस निकालेर यात्रा गर्नुपूर्व पिउने वा यात्राको वीच–वीचमा अलि–अलि रस पिउँदा पनि वान्ता हुँदैन । साथै जामुनको फल नै फलफुलका रुपमा प्रयोग गर्न सकिन्छ ।
४) आँप : आँपको सिजनमा काँचो आँप खादा खानामा रुची जगाउछ । यसले खाना पचाउन समेत मर्दत गर्दछ । आँपको पातले वान्ता रोक्ने काम गर्दछ । यसर्थ यात्रा गर्दा आँपको पातको रस निकालेर वीच वीचमा पिउने गर्नु भयो भने पनी वाकवाकी लाग्दैन ।
५) सौंफ : सौंफले पनि वान्ता रोक्ने काम गर्दछ । यात्राका क्रममा मुखमा सौंफ राखेर चपाईरहँदा पनि वान्ता हुँदैन ।
६) अदुवा : रुघा खोकी, अरुची आदिमा प्रयोग गरिने तथा दैनिक भान्सामा प्रयोग हुने अदुवामा वान्ता रोक्ने औषधीय गुण हुन्छ । अतः यात्राका क्रममा अदुवाका टुक्रा मुखमा राखेर चुसीरहँदा पनि वाकवाकी लाग्दैन ।
त्यसका अलावा अमिलो अनार, बयर, बिमिरो आदि यात्राका क्रममा पटक–पटक खाँदा पनि वाकवाकीलाइ रोक्न सकिन्छ ।


