एजेन्सी । चर्चित पप गायक लियाम पेनको होटलको बार्दलीबाट खसेर ज्यान गएको छ । पप ब्याण्ड वन डाइरेक्शनमा आवद्ध रहेका ३१ वर्षका पेन अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा होटलको तेस्रो तल्लामाथीकाे बार्दलीबाट खसेर घटना स्थलमा ज्यान गएकाे बीबीसीले समाचार जनाएकाे छ ।
प्रहरी घटनास्थलमा पुग्दा पेनको ज्यान गइसकेको जनाइएको छ । लियाम पेन सन् २०१० मा एक्स फ्याक्टर टिभी शो मा गठन गरिएको प्रसिद्ध बॉयब्यान्डमा पनि थिए ।
ह्यारी स्टाइल्स, लुइस टमलिन्सन, नियाल होरान र जेन मलिक जस्ता कलाकारहरू पनि यस समूहमा परेका थिए । ब्यूनस आयर्स प्रहरीका अनुसार घटनास्थलमा रहेका प्रहरी अधिकारीहरूले गरेको प्रारम्भिक अनुसन्धानले लियाम पेनले सम्भवतः लागूपदार्थ र मदिराको सेवन गरेका देखाएको छ ।
उनको पोस्ट मार्टमपछि अन्य जानकारी आउने सञ्चारमाध्यममा जनाइएको छ । लियाम पेनको ज्यान गएकाे खबर फैलिने बित्तिकै उनका धेरै फ्यानहरू होटल बाहिर भेला भएका थिए । जसका कारण प्रहरीले घटनास्थल घेराबन्दी गर्नुपरेको थियो ।


