काठमाडाैं । साफ महिला च्याम्पियनशिप आजदेखी सुरु हुदै छ । च्याम्पियनशिपको उद्घाटन खेलमा भारत र पाकिस्तान खेल्दैछन् ।
यसै बिच नेपाली राष्ट्रिय महिला फुटबल टोलीले यस पटककाे साफ च्याम्पियनशिपमा विजेता बन्ने लक्ष्य राखेकाे छ । नेपालले तेस्रो पटक महिला साफ च्याम्पियनशिपको आयोजना गरेकाे हाे ।
आजदेखि घरेलु मैदानमा हुने प्रतियोगितामा नेपाली टोलीकी कप्तान तथा गोलकिपर सुब्बाले विजेता बन्ने लक्ष्य रहेको बताए । सबै टोली मेहनत गरेर विजेता बन्नकै लागि आए पनि यस पटक आफ्नो टोली सन्तुलित र बलियो रहेको उनको विश्वास छ ।
नेपालले भने भाेली भुटानसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने महिला साफ च्याम्पियनशिपमा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश गरी ७ वटा देशले प्रतिस्पर्धा गर्नेछन् ।
७ वटा टोलीलाई २ समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘बी’ मा श्रीलङ्का, माल्दिभ्स र भुटान पनि छन् । यस्तै समूह ‘ए’ मा भारत, पाकिस्तान र बङ्गलादेश छन् । प्रतियोगिता कात्तिक १४ गतेसम्म चल्ने छ ।
नेपाल अहिलेसम्म ५ पटक साफ महिला च्याम्पियनशिपको फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । महिला साफ च्याम्पियनशिपको सबैभन्दा सफल टोली भारतले ५ पटक उपाधि जितेको छ । यस्तै बङ्गलादेशले १ पटक उपाधि जितेको छ ।



