प्रतिकात्मक तस्बिर
म्याग्दी । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका ५ जना रुसी पर्वतारोहीको शव सङ्कलन गरेर आज काठमाडाैं पठाइएको छ ।
७ हजार १०० मिटर उचाइमा मृतावस्थामा भेटिएका उनीहरूको शव आज सङ्कलन गरी हेलिकप्टरमार्फत काठमाडाैं पठाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी भरत श्रेष्ठले जानकारी दिए ।
एअर अल्टिच्युडको हेलिकप्टरबाट हिमालमा पुगेका सेभेन समिट ट्रेकका सञ्चालक मिङ्मा शेर्पासहितको ५ जना शेर्पाको टोलीले शव उठाएर इटली आधार शिविर झारेका थिए । काठमाडाैं लगिएका शवहरुलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
रुसका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव गएको २३ गते दिउँसो भेटिएको थियो ।
हेलिकप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा रहेका शव खराब मौसम र प्रतिकूल भूगोलका कारण सङ्कलन गरेर घटनास्थलबाट ल्याउन ढिलाइ भएको हो ।


