काठमाडाैं । दशैँ बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक कार्यालय आजदेखि खुल्दैछन् । आश्विनशुक्ल सप्तमी अर्थात् फूलपातीका दिनदेखि हिजो द्वादशीसम्म बन्द रहेका कार्यालय आजदेखि खुल्न लागेका हुन् ।
आज सरकारी तथा सार्वजनिक कार्यालय खुल्ने भएकाले काठमाडाैं उपत्यकासहित देशैभरका शहरमा विस्तारै चहलपहल बढन् थालेको छ । दशैँमा १३ लाख जना काठमाडाैंबाट बाहिरिएपछि चहलपहल कम बनेको काठमाडाैंमा भिडभाड बढ्न लागेको छ ।
उपत्यका बाहिर स्थायी बसोबास भएका तथा मान्यजनको हातबाट दशैँमा टीका तथा आशीर्वाद ग्रहण गर्न गएका कर्मचारी, विद्यार्थी, शिक्षक, व्यापारीलगायत फर्केपछि काठमाडाैं उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ ।
यसपटक धेरैजसो सडकको यात्रा कष्टकर हुने भएकाले पनि जरुरी काम पर्नेबाहेक अरुले खासै यात्रा गरेका छैनन् ।
यस्तै, काठमाण्डौ–नौबिसे मुग्लिन सडक ठाउँ ठाउँमा पहिरोले बिग्रिएकाले कतै जाम र कतै कष्टकर यात्रा रहेको छ । पूर्व पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक धुलाम्मे र खाल्डाखुल्डी हुँदा यात्रुले दुख पाइरहेका छन् भने गाडी बिग्रने समस्या पनि बढेको छ ।




















