काठमाडाैं । धौलागिरि हिमाल आरोहणमा गएका १४ मध्ये ५ जना रुसी नागरिकको ज्यान गएको पुष्टि भएको छ । गएको आइतवारदेखि सम्पर्कविहीन भएका उनीहरुको मंगलबार शव भेटिएको हो ।
ज्यान गुमाउनेमा अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइ रहेका प्रहरीले जनाएको छ ।
उनीहरुको हेलिकप्टरबाट खोजी गरिएको थियो । धौलागिरिको क्याम्प–१ क्षेत्रबाट सम्पर्कविहीन रहेका उनीहरूको शव ७ हजार ६०० मिटर उचाइमा भेटिएको पर्यटन विभागले जनाएको छ ।
ज्यान गुमाएका अलेक्जेन्डरको नेतृत्वमा १४ जनाको आरोहण टोली नेपाल आएर धौलागिरि आरोहण गर्न गएका थिए । आईएएम ट्रेकिङ कम्पनीको व्यवस्थापनमा गएका १४ मध्ये ६ जनाको स्वास्थ्य बिग्रिएपछि उनीहरुले आरोहणको योजना रद्द गरेर आधार शिविरमै बसेका थिए ।
शपिलेवो नामका व्यक्ति क्याम्प–१ बाटै आरोहण योजना रद्द गरेर फर्किएको विभागले जनाएको छ । मौसम प्रतिकुल भएपछि सोमवार ट्रेकिङ कम्पनीले ५ जना हराइरहेको भन्दै विभागलाई जानकारी गराएको थियो ।
मौसम प्रतिकुल हुनु र आरोहण सम्पन्न गरेर फर्कने उनीहरुको मनसायका कारण घटना भएको पर्यटन विभागका निर्देशक राकेश गुरुङले बताए ।


