फाईल तस्बिर
काठमाडाैं । नेपाल वायु सेवा निगमको न्यारोबडी जहाजले फूलपातीका दिन काठमाण्डौ–भैरहवा गर्ने उडानका सबै टिकट बिक्री भएपछी अर्काे उडानकाे तयारी थालेकाे छ ।
यात्रुको चाप बुझ्नका लागि हिजो बेलुका १ घण्टा टिकट बुकिङ खुलाएकोमा ७० वटा बिक्री भएको र आज बिहान सबै १५८ वटै टिकट बिक्री भएपछी अर्को उडानकाे तयारी गरेकाे हाे ।
काठमाण्डौ–भैरहवा उडानमा यात्रुको चाप थेगिनसक्नु भएका कारण अर्को उडानकाे तयारी गरेकाे वायु सेवा निगमका सहायक प्रवक्ता मनोजकुमार साहले बताए ।
अन्तर्राष्ट्रिय उडानलाई असर नपर्नेगरी काठमाण्डौ–भैरहवा अर्को पनि उडान गर्ने तयारी थालिएको उनले जानकारी दिए । अर्को उडानका सम्वन्धमा आज साँझ टुङ्गो लाग्ने छ ।
देशैभरकाे अधिकाशं सडक खराब भएका कारण पनि धेरै मानिसले हवाई यात्रा राेजेका हुन्। अन्य हवाईजहाजको टिकट महँगो भएको गुनासो आए लगत्तै नेपाल एअरलाइन्सले १५८ सिटको न्यारोबडी जहाजमार्फत भैरहवामा उडान गर्न लागेको हो ।
फूलपातीका दिन काठमाण्डौबाट जहाज ११ बजे भैरहवाका लागि उड्नेछ । साढे १२ बजे काठमाण्डौ फर्किनेछ । काठमाण्डौबाट भैरहवाको लागि भाडादर ७ हजार रुपैयाँ रहेको छ भने भैरहवाबाट काठमाण्डौको भाडा ३ हजार ८९० रुपैयाँ ताेकिएको निगमले जनाएको छ ।


