एजेन्सी । मध्यपूर्वमा भइरहेको युद्ध र तनावका कारण युरोपमा समेत तेलको मुल्य बढेको छ ।
इजरायली सेना र विद्रोही समूह हमासबीच युद्ध शुरु भएको १ वर्ष पुगेको बेलामा ठूलो आक्रमणको सम्भावना र मध्यपूर्वमा लडाइँ फैलिने डरले हिजो लन्डनमा तेलको मूल्य प्रतिब्यारेल ८० डलरभन्दा माथि पुगेको हो ।
लन्डनमा तेलको मूल्य २.६ प्रतिशतले बढेर प्रतिब्यारेल ८०.१० डलर पुगेको छ ।
यस्तै अमेरिकामा २.८५ प्रतिशतले बढेर तेलको मूल्य ७६.५१ डलर पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
मध्यपूर्वमा तीव्र आक्रमण र युद्धका कारण गएको हप्ता तेलको मूल्य १० प्रतिशतसम्म बढेको थियो ।
इजरायलले गएको हप्ता इरानले गरेको क्षेप्यास्त्र आक्रमणको बदला लिने तयारी गरिरहेको छ । यसले गर्दा क्षेत्रीय युद्धको डरसँगै तेल प्रशोधन केन्द्रहरूमा आक्रमण र विस्फोटका घटना हुनसक्ने धेरैको अनुमान रहेको खबरमा उल्लेख छ ।


