काठमाडाैं । देशको मध्य र पूर्वी क्षेत्रको मौसममा पनि क्रमिक सुधार हुन थालेको छ । तर १-२ दिन बदली र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखालेजनाए अनुसार आज पूर्वी क्षेत्रका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । १-२ दिनपछि मध्य र पूर्वी क्षेत्रको मौसम पनि सफा हुँदै जाने छ ।
पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिन थाले पनि मध्य र पूर्वी क्षेत्रमा भने मनसुनी वायुको प्रभाव कायमै छ । सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशका पश्चिमी भू–भागको थोरै ठाउँहरूबाट मनसुन हिजो बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाले जनाएकाे छ । मनसुन बाहिरिन थालेपछि दशैंका मुख्य दिनमा झरीको सम्भावना टरेको छ ।
अब पश्चिमी वायुको सक्रियता बढ्दै जाने र थप चिसो पनि बढ्ने महाशाखाले जनाएको छ । यस वर्ष नेपालमा गएको जेठ २८ गते मनसुन भित्रिएको थियो । १ दिन ढिला गरी भित्रिएको मनसुन ४ दिन ढिला गरी बाहिरिन थालेको हो ।


