एजेन्सी । मेक्सिकन सेनाले प्रहर गरेकाे गाेली लागी ३ जना नेपाली घाईते भएका छन् । मेक्सिकाे-ग्वाटेमाला सीमा नजिक मेक्सिकोको सीमा बलले गोली हानेको ट्रकमा ११ जना नेपाली रहेको पुष्टि भएको छ । ३ जनाको घाइतेकाे उपचार भइरहेको छ ।
अहिले ११ जनानै मेक्सिको अध्यागमनको हिरासतमा रहेको बासिङ्टनस्थित नेपाली दूतावासले जनाएको छ । उक्त घटनामा कुनै पनि नेपालीकाे ज्यान नगएकाे पिन दुताबासले जनाएकाे छ ।
समाचार संस्था रोयटर्सले भने अधिकारीहरूलाई उद्धृत गर्दै मेक्सिको–ग्वाटेमाला सीमाक्षेत्रको दक्षिण चियापास राज्यको हुइस्टलामा सैनिकहरूले आप्रवासी सवार ट्रकलाई चेकपोष्टमा रोक्न खोजेको तर नरोकिएपछि गोली चलाएको जनाएको छ । गोली चलाउने सैनिकहरूलाई निलम्बन गरिएको जनाइएको छ ।
नेपालीसहित ३३ आप्रवासी चढेको ट्रकमा मेक्सिकन सेनाले गोली हानेको थियो । उक्त घटनामा ६ जनाको ज्यान गएको छ । मंगलबार साँझ ग्वाटेमालासँगको सीमाबाट करिब ४० किलोमिटर उत्तरमा भएको घटनामा थप १० घाइते भएको मेक्सिकोको रक्षा मन्त्रालयले जनाएको छ ।
ट्रकमा नेपालसहित भारत, पाकिस्तान, इजिप्ट, क्यूबा र अरबी नागरिक सवार थिए । मेक्सिकोको रक्षा मन्त्रालयका अनुसार आक्रमणमा मारिएकामध्ये ४ जनाको घटनास्थलमै र २ जनाको अस्पतालमा ज्यान गएको हो ।
अवैध बाटो (डकं रुट) हुँदै अमेरिका प्रवेश गर्नेहरूले मेक्सिको–ग्वाटेमाला सीमाक्षेत्रको दक्षिण चियापाको रुट प्रयोग गर्दै आउने गरेका छन् । मानव तस्कहरूले नेपाललगायत मुलुकका युवाबाट ठूलो रकम लिएर जोखिमपूर्ण यात्रा गराउँदै उक्त बाटोबाट अवैध रूपमा अमेरिका छिराउने गरेका छन् ।
पछिल्लो समय मेक्सिकोले त्यसरी प्रवेश गर्नेहरूमाथि कडा कारबाही गर्न थालेको छ । अमेरिकाले सीमामा हुने त्यस किसिमका गतिविधि रोक्न मेक्सिको सरकारलाई चेतावनी दिँदै आएको छ । अमेरिकी दबाबका कारण मेक्सिकोले सीमाक्षेत्रमा कडाई गर्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।




















