गाेरखा । शसस्त्र प्रहरी बल नेपालले चाडपर्वलाई लक्षित गर्दै सहज, सुरक्षित एवं सम्मानजनक आवगमन सुनिश्चित गर्न सीमा नाकाको ११६ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेकाे छ ।
सशस्त्र प्रहरीले शुक्रबारसम्म ६६ स्थानमा सहायता कक्ष स्थापना गरेको र ५० स्थानमा आजै स्थापना गर्ने तयारी गरेकाे सशस्त्र प्रहरी नायब महानिरीक्षक एव सुचना अधिकारी कुमार न्यौपानेले जानकारी दिए ।
दशैं, तिहार तथा छठपर्व लगायतका चाडवाडका वेला सीमा नाकाबाट आ-आफ्नो गन्तव्यतर्फ जाने आमनागरिकलाई सहज, सुरक्षित र सम्मानजनक ढंगबाट यात्रा पूरा गर्ने व्यवस्था मिलाउन तथा आपतविपद्मा परेका नागरिकको उद्धार कार्यमा सहयोग पुर्याउने अभिप्रायले दुवै देशका सुरक्षाकर्मीसँगको समन्वय र सहकार्यमा कक्ष राखिएको उनले बताए ।
उनले चाडपर्वको बेला सीमा नाकाबाट आवतजावत गर्ने नागरिकहरुको सुरक्षा, सीमा क्षेत्रमा हुने अबैध गतिविधि, चोरी डकैती, लुटपाट जस्ता घटनाहरु हुन नदिन, अप्ठ्यारोमा परेका नागरिकको सहयोग गर्न हेल्प डेस्क गरिएको समेत बताए ।
त्यसैगरी पर्यटकहरु प्रवेश गर्ने इलाम जिल्लाको पशुपतिनगर फाटक, झापाको काँकडभिट्टा, धनुषाको जटही, पर्साको बिरगंज, रुपन्देहीको बेलहिया, कपिलबस्तुको कृष्णनगर, बाँकेको जमुनाह र कञ्चनपुर जिल्लाको गड्डाचौकीमा गरी ८ ठाउँमा पर्यटक सहायता कक्ष समेत स्थापना गरीने भएकाे छ ।
आमनागरिकहरु सीमा नाकाबाट आवतजावत गर्दा सुरक्षाकर्मीबाट दुःख दिने तथा अनावश्यक हैरानी दिने कार्य भएमा सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी नायव महानिरीक्षक एवं सूचना अधिकारी कुमार न्यौपानेको मोवाइल नम्बर ९८५१२७२००७, सहायक प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाको मोवाइल नम्बर ९८५१२६४७११ र अनुगमन तथा गुनासो व्यवस्थापन इकाईका सशस्त्र प्रहरी नायव उपरीक्षक सुदिप रेग्मीको मोवाइलन नम्बर ९८५१२६१२०० मा सम्पर्क गर्न गरी उजुरी तथा गुनासो गर्न सकिने समेत भएकाे छ ।
तस्बिर शसस्त्र प्रहरी बल नेपाल


