काठमाडौं । ३ दिनदेखि परिरहेको अविरल वर्षा आज साँझदेखि मत्थर हुँदै जाने अनुमान गरिएको छ ।
पछिल्ला ३ दिनमा भइरहेको वर्षाको स्तर आजै साँझदेखि विस्तारै कम हुँदै जाने बाढी पूर्वानुमान शाखाले जनाएकाे हाे ।
भोलिदेखि अहिलेको मौसमी प्रणाली कमजोर हुँदै जाने पनि महाशाखाले जनाएकाे छ ।
नेपालको पश्चिमी भेगदेखि मौसमी प्रणाली सुधार हुँदै आइरहेकोले अहिलेको मौसमी प्रणाली अन्त्यसँगै नेपालबाट यसवर्षको मनसुन बाहिरिने छ ।
शाखाले बङ्गालको खाडीको न्यून चापीय प्रणालीको आंशिक प्रभाव र मनसुन न्यून चापीय रेखा नेपाल र भारतको सीमामा अवस्थित रहनु नै अहिलेको मनसुनी वर्षाको मुख्य कारण भएको जनाएको छ । नेपालको सीमा जोडिएको भारतका धेरै भूभागमा समेत वर्षा भएकाे छ ।
पछिल्ला ३ दिनमा मुलुकका विभिन्न स्थानमा अतिभारी, भारी र सामान्य वर्षा भएका छन् । समग्रतामा ३०० मिलिमिटरभन्दा बढी वर्षा भएको शाखाको तथ्याङ्क छ ।
चौबीस घन्टामा १४० मिलिमिटरभन्दा बढी वर्षा भएमा खतराको तह पार गरेको मानिन्छ । १०७ वटा वर्षा मापन केन्द्रमा खतराको तह नाघेको छ । यसपटक ७७ वटै जिल्लामा वर्षा भएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा खास वर्षा भएको छैन । बागमती, मधेश, लुम्बिनी र गण्डकी प्रदेशमा भारी वर्षा मापन गरीएकाे छ ।




















