फाईल तस्बिर
मुग्लिन । अबिरल वर्षाका कारण पहिराे जान सक्ने र जनधनकाे क्षती हुनेभन्दै आजराती मुग्लिन-नारायणगढ सडक बन्द हुने भएकाे छ ।
लामाे समयसम्म परेकाे झरीका कारण सडक यातायात कष्टप्रद हुने तथा रातकाे समयमा सवारी सञ्चालन गर्दा मानवीय क्षति वा यात्रुले हैरानी भोग्नु पर्ने भन्दै रातकाे समयमा यातायात सञ्चालनमा राेक लगाएकाे हाे ।
सडकमा समस्या आएका कारण पूर्व–पश्चिम महेन्द्र राजमार्गलाई काठमाडाैंसँग जोड्ने सडकको नारायणगढ–मुग्लिन खण्ड आज बेलुका ७ बजेदेखि भोलि बिहान ५ बजेसम्म बन्द गर्ने निर्णय गरेकोभन्दै जिल्ला प्रशासन कार्यालय चितवनले सूचना समेत जारी गरेकाे छ ।
गएरातिपछि मध्य नेपालमा मुसलधारे वर्षा भइरहेको छ भने भरे रातिदेखि पश्चिम नेपालमा पनि मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार झापाको चन्द्रगढी मापन केन्द्रमा २४ घण्टामा २ सय ९९ मिलिमिटर वर्षा मापन भएको छ । १४० मिलिमिटरभन्दा बढी पानी पर्दा त्यसलाई अति भारी वर्षा भनिन्छ ।
झापाकै गौरादह, केचना, अनारमनी र बाहुनडाँगी क्षेत्रमा २०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली क्षेत्रमा अन्य क्षेत्रको तुलनामा काम वर्षा मापन भए पनि आज देशैभरि वर्षा भइरहेको छ ।
पूर्वी नेपालमा भोलि बेलुकादेखि मात्रै वर्षा कम हुँदै जाने महाशाखाले जनाएकाे छ । निरन्तरको वर्षाले प्राकृतिक विपत्ति आउन सक्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुरक्षित रहन आग्रह गरेको छ ।
यसैबीच अहिले बाग्मती नदीले ललितपुरमा खतराको तह पार गरेको छ ।
त्यस्तै कपिलवस्तुमा वाणगङ्गा, बारामा पसाहा खोला, सिन्धुपाल्चोकमा मेलम्ची र झापामा निन्दा खोला खतराको तहमा पुगेका छन् ।
उता वर्षाले नारायणी, तिनाउ, बाग्मती, कोशी, केशालिया, कन्काई, मेची, बलान खोला लगायतका ३० भन्दा बढी जलाधार क्षेत्रमा खतराको तह पार गरीसकेकाे छ । कुनै क्षेत्रमा २४ घण्टामा १४० मिलिमिटर वा त्योभन्दा बढी पानी परेमा त्यसको जलाधार क्षेत्रमा खतराको तह पार गरेको मानिन्छ ।
महाशाखाले सन्देश पठाउदै कपिलवस्तुको कोइली नदी, सुनसरीमा सेउती, सर्दु, सुनसरी खोला, बुढी, खेसलिया, चिसाङ, लोहन्द्रा खोला लगायत अन्य स–साना खोला तथा पाल्पा र आसपासमा कालीगण्डकी नदी, तिनाउ नदी, निस्ती खोला, बिनई नदी, मुकुन्डे खोला लगायत स–साना खोलामा आकस्मिक बाढीको जोखिम रहेकाेले सतर्कता अपनाउन भनेकाे छ ।
त्यस्तै सप्तरी र उदयपुरको त्रियुगा, मौली, खाडोखोला लगायत अन्य स–साना खोलामा आकस्मिक बाढीको जोखिम रहेकाे पनि महाशाखाले जनाएकाे छ । झापा र आसपासको कन्काई, मेची, विरिङ, निन्दा र अन्य स–साना खोलामा पनि बाढीको जोखिम छ । बाढी पूर्वानुमान महाशाखाले निरन्तर झरी परिरहेका सबै क्षेत्रमा साना ठूला खोला तथा नदीमा जोखिम हुने भएकोले सावधानी अपनाउन भनेको छ ।
पूर्वी नेपालमा ३० घण्टाभन्दा बढी समयदेखि निरन्तर वर्षा भइरहेको पनि महाशाखाले जनाएकाे छ ।


