कागबेनी । राष्ट्रिय गौरवको आयोजना मानिएकाे कालीगण्डकी करीडोरअन्तर्गतकाे मुस्ताङ सदरमुकाम जोमसोमदेखि कागबेनीसम्म १३ किलोमिटरसडक कालोपत्र भएको छ । जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र गरिएको हो ।
बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरर्गत जोमसोम–कागबेनी खण्डमा कालोपत्र गर्न २८ करोड १४ लाखमा ठेक्का सम्झौता भएको थियो ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका अनुसार कालोपत्रको काम पूरा भएको तथा सडक फर्निचरको काम अन्तिम चरणमा पुगेको जानकारी दिएकाे छ । कागबेनी देखि कोरलातर्फ २ किलोमिटर र एक्लेभट्टी देखि कागबेनी जोड्ने बैकल्पिक सडकको १ किलोमिटर क्षेत्रमा पनि कालोपत्र सम्पन्न भएको छ ।
जोमसोमदेखि चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको कोरला नाका जोड्ने उक्त करिडोरअन्तर्गत ८ खण्डमा विभाजन गरेर प्रारम्भ भएको ११० किलोमिटरमध्ये ७५ किलोमिटरमा सडक विस्तार र ग्राभेलको काम पूरा भएको पनि आयाेजनाले जनाएकाे छ ।




















