प्रतिकात्मक तस्बिर
काठमाडाैं । हिजाे रातीदेखी नै देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ । धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि केही ठाउँमा भने ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
शाखाका अनुसार भोलि बेलुकासम्म नै लगातार पानी पर्ने सम्भावना रहेको र आइतवार बिहान पनि केही ठाउँमा पानी पर्ने सम्भावना छ ।आइतवार दिउँसो या बेलुकीदेखि मौसममा क्रमिक सुधार हुने शाखाले जनाएकाे छ ।
गएरातिदेखि नै ठूलो पानी परेका ठाउँमा रहेका खोला र नदीहरुमा बाढी आएको छ । नारायणी, कन्काई, कमला, बागमती, राप्ती, बबई लगायतका नदीहरुमा आज र भोलि बाढीको जोखिम रहेको महाशाखाले जारी गरेकाे बुलेटीनमा भनिएकाे छ ।
पर्सि आइतवारसम्म नै ठूलो पानी पर्ने सम्भावना भएकाले आज र भोलि पहाडी र हिमाली क्षेत्रमा रात्रिबस नचलाउन सरकारले आग्रह गरेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कमाण्ड पोष्टको बैठकले पर्सि आइतबारसम्म ५६ वटा जिल्लामा ठूलो पानी पर्ने भएकाले पहाडी र हिमाली जिल्लामा रात्रिबस नचलाउन आग्रह गरेको हो ।
त्यस्तैगरी, धान नकाट्न, अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न, तराई तथा मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न, पहिरोको जोखिम भएका ठाउँमा र नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउन, दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजान पनि सरकारले आग्रह गरेको छ ।
बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाका साथै त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण पर्सि आइतवारसम्म मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने महाशाखाले जनाएको छ ।




















