प्रतीकात्मक तस्बिर
काठमाडाैं । चट्याङ लागेर विभिन्न जिल्लामा ६ जनाको ज्यान गएको छ । चट्याङ लागेर अन्य ३ जना समेत घाइते भएका प्रहरीले जनाएको छ ।
प्राप्त विवरण अनुसार कञ्चनपुरमा चट्याङ लागेर २ जनाको ज्यान गएको छ । दोधारा चाँदनी नगरपालिका–६ का ३४ वर्षीय यामबहादुर सुनार र लालझाडी गाउँपालिका–१ की २८ वर्षीया हिरामती रानाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
साेही चट्याङमा परेर दोधारा चाँदनी–६ का जगदीश सुनार घाइते भएकाे पनि प्रहरीले जानकारी दिएकाे छ ।
त्यस्तैगरी, दाङमा चट्याङ लागेर १ जनाको ज्यान गएको छ । २ जना गम्भीर घाइते भएका छन् ।
चट्याङ लागेर घोराही उपमहानगरपालिका–११ खुङकोटकी ४२ वर्षीया निमकली साहु, ६ वर्षकी छोरी सविना र ३ वर्षका छोरा समिर घाइते भएकामा समिरको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
आमा र छोरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । उनीहरूलाई आफ्नै घरमा चट्याङ लागेको हो ।
उता रोल्पाको त्रिवेणी गाउँपालिका–५ हाङजावाङमा चट्याङ लागेर चन्द्रकली वलीको ज्यान गएको छ ।
मोरङको मिक्लाजुङ गाउँपालिका–३ तेह्रथुमे टोलमा घर बनाउने काम गरिरहेका झापाका कुमार मोतेको पनि चट्याङ लागेर ज्यान गएको छ । गएराति बाजुराको बुढीगङ्गा नगरपालिका–४ बानेगाउँमा चट्याङ लागेर खम्ब कटुवालको ज्यान गएको प्रहरीले जनाएको छ ।


