पाेखरा । मुस्ताङबाट पाेखरा ल्याईएका १०३ वटा च्याङ्ग्रा चोरी गरेको आरोपमा १ जनालाइ प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ घर भइ पोखराको मासवार बस्दै आएका ५० वर्षीय मोहम्मद फकिर भएकाे कास्की प्रहरीले पुष्टी गरेकाे हाे ।
कास्की प्रहरीले बिशेष सूचनाकाे आधारमा पोखरा महानगरपालिका–४ बाट सोमबार पक्राउ गरेको हो ।
१ असोजको दिउँसो ४ बजेतिर मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ का ताक्ला गुरुङको १०३ वटा च्याङ्ग्रा खरिद गर्ने भनि पोखरा ल्याएर चोरी गरेका थिए ।
फकिरसहित ३ जना मिलेर ४२ लाख मूल्य बरावरकाे च्याङ्ग्रा खरिद गर्ने बहानामा पुरै पैसा पोखरा पुगेपछि दिने भन्दै च्याङ्ग्राधनी ताक्लालाई समेत पोखरा ल्याइएका थिए । ताक्लालाई पोखराको ड्यामसाइडस्थित होटलमा सुताएर च्याङ्ग्रासहितको गाडी लिएर फकिर फरार भएका थिए ।
फकिरले ती च्याङ्ग्राहरु २ असोजमा पोखराको घट्टेखोलामा लगी बिक्रि गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएकाे पनि प्रहरीले जानकारी दिएकाे छ ।
पक्राउ परेका फकिरविरुद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएकाे छ ।



