फाइल तस्बिर
काठमाडाैं । सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’नहा खा अर्थात नुहाएर खाने विधिसहित आजदेखि शुरू भएको छ ।
तिथिको हेरफेरअनुसार यस वर्ष मिथिलाञ्चलमा आज नहा खा विधिबाट शुरु हुने जितिया पर्वमा व्रतालु महिलाहरु भोलि बिहान ४ बजेदेखि दिनभरि र रातभरि तथा पर्सि बुधवार दिनभरि उपवास बस्ने छन् । बुधवारकै दिन बेलुकी ५ बजेपछी पारण गर्दै व्रत सम्पन्न गर्ने पञ्चाङ्गमा उल्लेख गरीएकाे छ ।
व्रत (उपवास) बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर त्यही ठाउँमा घिरौँलाको पातमा भगवान् जितमाहन देवता र आफ्ना दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादका रुपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने प्रचलन रहेकाे छ ।
मिथिलाञ्चलमा मनाइने व्रतहरुमध्ये जितिया व्रतलाई पवित्र व्रतका रुपमा मानिन्छ ।


