काठमाडाैं । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क पुगेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । केहीबेरअघि भएको भेटमा द्विपक्षीय संयन्त्रहरुलाई सक्रिय बनाएर सबै समस्यालाई समाधान गर्ने सहमति भएको छ ।
भेटवार्तापछि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले छलफल सकारात्मक भएको जानकारी दिए । भेटमा भारतीय प्रधानमन्त्री मोदीले नेपालको छिट्टै भ्रमण गर्ने समेत बताएको उनले बताए ।
भेटवार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री डा. आरजु राणा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र अमेरिकाका लागि नेपालका राजदूत लोकबहादुर थापाको सहभागी भएका थिए ।
भारतको तर्फबाट प्रधानमन्त्री मोदीसँगै विदेशमन्त्री एस.जयशङ्कर र विदेश मन्त्रालयका सचिव विक्रम मिस्री लगायतको उपस्थिति रहेको थियो । चौथो पटक प्रधानमन्त्री भएपछि ओलीको भारतका प्रधानमन्त्री मोदीसँग पहिलो भेटवार्ता हो । यसअघि ओली पहिलो र दोस्रो पटक प्रधानमन्त्री हुँदा भारत भ्रमण गरेरै मोदीसँग भेटवार्ता गरेका थिए ।


