काठमाडाैं । प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस भएका छन् । भावी प्रधानन्यायाधीशमा सर्वोच्चका वरिष्ठतम् न्यायाधीश राउतलाई प्रधान न्यायाधीशमा सिफारिस गरेको हो ।
हिजो बेलुका बसेको संवैधानिक परिषद्को बैठकले राउतकाे नाम प्रधानन्याधीशमा सिफारीस गरेकाे हाे । न्यायपरिषद्ले सर्वोच्चमा ३ वर्षभन्दा धेरै अनुभव भएका ८ जनाको नाम परिषद्मा पठाएको थियो । तीमध्येबाट राउतको नाम सिफारिस भएको प्रतिनिधिसभाका उपसभामुख एवम् परिषद् सदस्य इन्दिरा रानामगरले जानकारी दिए ।
वरिष्ठ अधिवक्ता राउत २०७३ साउनमा सर्वोच्चको न्यायाधीश नियुक्त भएका थिए । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण आउँदो असोज १८ गते अवकाशमा पाउदै छन् । राउतको नाम अब संसदीय सुनुवाइका लागि पत्राचार गरिनेछ ।
संसदीय सुनुवाइबाट अनुमोदन भए राउतले २०८२ चैत १८ गतेसम्म सर्वोच्च अदालतको नेतृत्व सम्हाल्न पाउने छन् ।
उदयपुरमा २०१७ साल चैत १८ मा जन्मिएका राउत संसदीय सुनुवाइबाट अनुमोदित भएमा झण्डै १८ महिना न्यायपालिकाको नेतृत्व गर्ने छन् ।


