मुस्ताङ । मुस्ताङमा उत्पादित रोयल, रेड, गोल्डेन स्याउ आजदेखि टिप्न थालिएको छ । स्याउ उत्पादन गर्ने समूहरुकाे सहमती अनुसार आजदेखी स्याउ टिप्न थालिएकाे पूर्व पत्रकार सुशिलबावु थकालीले जानकारी दिए ।
उनका अनुसार जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख मायाँ गुरुङको अध्यक्षतामा सरोकारवालाको बैठकले स्याउ टिप्ने समयतालिका बनाए अनुसार असोज १ गतेदेखी रोयल, रेड र गोल्डेन डेलिसियस जातका स्याउहरु टिप्न शुरु गरीएको हो ।
मुस्ताङका किसानले लगाएको रोयल डेलिसियस, रेड डेलिसियस, गोल्डेन डेलिसियस र फुजीलगायत प्रजातिका स्याउ टिपेर बजार पठाउन शुरू भएको छ । उनका अनुसार मुस्ताङमा उत्पादित छिटो पाक्ने गाला प्रजातिको स्याउ भदौ १० र किङरोट रेड डेलिसियस प्रजातिको स्याउ भदौ १५ गतेपछि टिप्ने निर्णय भएको थियो भने अन्य प्रजातिका स्याउ असोज लागेपछि मात्रै टिपेर बजार पठाउने निर्णय भएको थियो ।
छिटो पाकेका स्याउ भने टिपेर यसअघि नै बजार पठाइसकिएको छ । मुस्ताङमा १ हजार ४७५ हेक्टर क्षेत्रफलको जमिनमा स्याउ खेती गरिएकोमा ५८० हेक्टरको स्याउले उत्पादन दिँदै आएको छ ।
गतवर्ष मुस्ताङमा ४ हजार ९७५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । अनुकुल मौसम, बगैँचा व्यवस्थापन र क्षेत्रफल विस्तारलगायत कारणले विगत वर्षको तुलनामा यसवर्ष स्याउ उत्पादनमा वृद्धि हुने अनुमान गरिएकाे छ ।


